धरान उप–महानगरपालिकाको अभिभावक बनेर नगरवासीको सेवा गर्नेछु : किशोर राई

175

साझाट्युव : वैशाख २२, काठमाडौं।
यहि वैशाख ३० मा हुने स्थानीय चुनाब अन्तर्गत नेपाली कांग्रेसको तर्फबाट धरान उप–महानगरपालिकाको मेयर पदका उम्मेदवार किशोर राई ‘झापाली’ ले धरान उप–महानगरपालिकाको अभिभावक बनेर नगरवासीको सेवा गर्ने बताएका छन्।

धरानलाई व्यवस्थित बनाउने प्रण गर्दै चुनावी मैदानमा उत्रिएका राइले यस्तो प्रतिक्रिया दिएका हुन्। उनले यदि आफू मेयर निर्वाचित भएमा कोरोना महामारीका कारण आफ्नो पार्टीका पूर्व मेयरले पुरा गर्न नसकेको विकास निर्माणको कामलाई निरन्तरता दिंदै विदेशी कलेजहरूसँग सहकार्य गर्दै धरानमै अन्तर्राष्ट्रिय उच्च शिक्षा दिलाउन पहल गर्ने समेत बताए।

राइले ‘विदेशमा उच्च शिक्षाको नाममा यहाँबाट बार्षिक करोडौं रुपैयाँ बाहिरिरहेको छ। यसलाई हामीले किन नरोक्ने, अझ म त यहाँको अस्पताललाई अन्तर्राष्ट्रियस्तरको बनाउने समेत अभियानमा छु ’ पनि भने।

सन् १९८८ मा थाइल्याण्डको राजधानी बैंककमा आयोजना भएको प्रिन्सेस कप युथ फुटबलमा किशोर राई ‘झापाली’ ले नेपाली युवा टोलीमा ‘डेब्यु’ गरेका थिए भने यसपछि ४ कार्यकाल उनले नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) को उपाध्यक्ष भएर काम समेत गरेका थिए । उनि धरानलाई फुटबलको ‘हब’ बनाउन फिफाको ‘गोल–प्रोजेक्ट’ अन्तर्गत एकेडेमी ल्याउन सफल समेत भए। साथै,बुढासुब्बा जस्तो महत्वाकांक्षी प्रतियोगिता स्थापना गरे।

यसैगरी उनि धरानमा पिउने पानी ल्याउन बनेको खानेपानी समितिको संयोजक भएर काम गरिसकेका छन् भने उनले सुकुम्बासी लागत संकलन समितिको संयोजक भएर समेत काम गरेका छन्।

युवाहरूमा बढ्दो दुर्ब्यसनी जस्तो मुख्य समस्यालाइ हटाउने उनको सपना छ । विपी कोइराला जस्तो एशियाकै नमुना अस्पताल धरानमा भए पनि चरम राजनीतिका कारण भद्रगोल अवस्थालाइ सुधार्ने उनको योजना छ।

फुटबलबाट मोडिएर २०४७ सालदेखि निरन्तर नेपाली कांग्रेसमा निरन्तर सक्रिय राइले अघिल्लो स्थानीय निकायको चुनावमै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मेयरको उम्मेदवार बनाउन खोजेका थिए। तर, विभिन्न समीकरण मिलाउनुपर्ने चुनौतीका कारण तिलक राईले अवसर पाएका थिए ।

५४ वर्षका यी युवाको जन्म खासमा मोरङको बोरावाङमा भएको , तर, उनको बाल्यकाल झापामा बित्यो। त्यसकारण उनको नामको पछाडि झापालीको ‘टाइटल’ झुन्डिएको हो। यसै नाम बाट पनि उनि चर्चित छन्।

राइले मोरङमा जन्मिएर, झापामा हुर्किएर सुनसरीलाई आफ्नो कर्मथलो मान्छन्। आफू युवा भएकै कारण पनि युवाहरूको शहर भनेर चिनिने धरानलाई आधुनिक र व्यवस्थित बनाउन उनि चाहन्छन्।

त्यसैगरी,धार्मिक हिसाबले पनि धरान निकै महत्वपूर्ण मानिन्छ। त्यसैले उनीसंग धार्मिक पर्यटनको योजना पनि छ। साथै, धरानलाई खेलनगरी, शिक्षाको ‘हब’ र एशियाकै नमुना स्वास्थ्य संस्था भएको ठाउँको रूपमा पनि राइले चिनाउन चाहन्छन्।

चुनावी प्रचार-प्रसारमा व्यस्त राइ पछिल्लो समय धरानको जनसंख्या बढ्दै गएको साथै धरानलाई अब आधुनिक र ठूलो बजार चाहिएको बताउँदै उनले ‘यसमा पनि मेरो विशेष रुची छ, लागु पदार्थ दुर्व्यसनी बिकृति बढेको बढैछ त्यसैले अब त पाठ्यक्रममै दुर्ब्यसनीको विषयमा सानैदेखि नानीबाबुहरूलाई पढाउनुपर्ने अवस्था विकास भइसकेको छ। यसमा सबैभन्दा ठूलो पहल कदमी लिन्छु’ भने।

LEAVE A REPLY