सिन्धुपाल्चोकको पाँचपोखरी विवाद समाधानपछि मतगणना जारी

208

साझट्युब : ५ जेठ, काठमाडौं ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५ को मतगणनामा भएको विवाद समाधान भएपछि अहिले मतगणना जारी रहेको छ ।

गएराति वडा नम्बर ५ को मतगणना भइरहेको समयमा एमाले र कांग्रेस, माओवादी केन्द्र र राप्रपाका प्रतिनिधिहरुकोबीच विवाद परेको कारण स्थिति असामान्य भएपछि मुख्य निर्वाचन अधिकृत सहसचिव चन्द्रप्रकाश तिवारी साथै सुरक्षाकर्मीसहितको टोली मतगणना स्थल गाउँपालिकाको कार्यालयमा पुगेका थिए ।

 

सर्वदलीय बैठकपछि वडाध्यक्ष पदको मतगणना पुनः सुरु भएको थियो । बिहीबार बिहान सार्वजनिक गरिएको मत परिणाम बमोजिम वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी रहेका हुन् ।

किन भयो विवाद ?

वडा नम्बर ५ मा १ हजार २०३ मत खसेको भनेर मतदान अधिकृतको हस्ताक्षर भएको कागज थियो । तर मतपेटिकालाइ खोलेर मतगणना गर्दा १ हजार २०० मत मात्र भेट्टियो ।

१ हजार १०० मत गनिसकेपछि थोरै मतपत्र रहेको विषय उठाएर प्रतिनिधिहरुबिच विवाद सुरुभएपछि मतगणना स्थगित गरेको थियो ।

‘८ मतले जितहार पक्का भएपछि थोरै मतपत्र भएको विषयलाइ लिएर विवाद सुरु भएको ,’ निर्वाचन आयोगका एकजना कर्मचारीले बताए । ,‘एमाले एकातिर र कांग्रेस, माओवादी र राप्रपा अर्कोतिर भएर वादविवाद सुरुभएपछि स्थति असामान्य बन्यो । ग्रिलको बार लगाएर मतगणना स्थललाइ बलियो बनाइएको थियो, अन्यथा अप्रिय घटना हुनसक्थ्यो ’

विवाद चर्किएपछि मतदान अधिकृतलगायत गणक कर्मचारीहरु हरेकले मतगणना स्थल छाडेर गएका थिए । त्यसलगतै मुख्य निर्वाचन अधिकृत तिवारीसहितको टोली मतगणना स्थलमा पुगेको थियो ।

रातभरको प्रयासपछि सर्वदलीय बैठकबाट वडाध्यक्ष पदको मत पुनः गणना गर्ने सहमति रह्यो । पुनः मतगणना हुँदा एमालेका काले गोले १४ मत अन्तरले वडाध्यक्षमा विजयी भएका हुन् ।

अहिलेसम्म वडा नम्बर १ मा एमालेका आलोककुमार स्याङ्बो,र २ मा कांग्रेसका बाबुलाल स्याङ्बो, त्यस्तै ३ मा एमालेका ङिमा छिरिङ तामाङ,त्यसैगरी ४ मा राप्रपाका कुलबहादुर बस्नेत र ५ मा एमालेका काले गोले निर्बाचित भएका हुन् ।

गाउँपालिकाको अध्यक्षमा एमालेका टासी लामा साथै उपाध्यक्षमा एमालेकै सुनिता अधिकारीको अग्रता कायम रहेको छ ।

LEAVE A REPLY