अहिलेसम्म ७२९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक

292

साझट्युब : ९ जेठ, काठमाडौं ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी अहिलेसम्म ७२९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणमामा नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिकामा बर्चस्व राखेको छ । कांग्रेसले ३२० वटा स्थानीय तहको प्रमुखपद जितेको छ भने २९५ वटा तहको उपप्रमुख पद जितेको छ । त्यसैगरी कांग्रेसले २ हजार ६ सय जना वडा अध्यक्ष जितेको छ । कांग्रेस पछि नेकपा एमाले दोस्रो स्थानमा रहेको छ ।

एमालेले १९९ वटा स्थानीय तहमा प्रमुख पद जितेको छ भने २२८ वटामा उपप्रमुख पद जितेको छ भने २ हजार ८० जना वडा अध्यक्ष जितेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । १२० वटा स्थानीय तहमा प्रमुख पद जितेको छ भने १२६ वटामा उपप्रमुख जितेको छ । माओवादीले १ हजार ४१ वडा अध्यक्ष हात पारेको छ । यता नेकपा एकिकृत समाजवादीले १७ वटा पालिकामा प्रमुख पद जित्दा २१ वटामा उपप्रमुख पद जितेको छ ।

२९ पालिकामा अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरु प्रमुख पदमा विजयी भएका छन् भने १८ उपप्रमुख पद हात पारेका छन् । त्यस्तै अन्य दल र स्वतन्त्र गरी ५७२ जना वडा अध्यक्ष निर्वाचित भएका छन् ।

उता जनता समाजवादी पार्टीले २९ वटा स्थानीय तहका प्रमुख जितेको छ भने ३० उपप्रमुख पद जितेको छ । उसले २८३ वडा अध्यक्ष हात पारेको छ । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीले १५ स्थानीय तहका प्रमुख र ११ वटा स्थानीय तहमा उपप्रमुख हात पारेको छ ।

अब २४ वटा स्थानीय तहको नतिजा आउन बाँकी छ । ती मध्ये विभिन्न कारणले केही स्थानीय तहको मतगणना हुन सकेको छैन । बाँकीको भने मतगणना जारी छ ।

LEAVE A REPLY