हवाई दुर्घटना मृत्यु भएका मृतकका परिवारले बीमाबापतको कति रकम प्राप्त गर्छन् ?

269

साझट्युब :  १७ जेठ काठमाडौं ।

आन्तरिक हवाई दुर्घटनामा मृत्यु भएका प्रत्येक मृतकका परिवारले प्रतिमृतक २० हजार अमेरिकी डलर पाउने कानुनी व्यवस्था रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देव चन्द्र लाल कर्णका अनुसार आन्तरिक हवाई दुर्घटनामा ज्यान गुमाउने प्रत्येक नागरिकका परिवारले प्रतिव्यक्ति २० हजार अमेरिकी डलर पाउने छन् । आजको मितिमा एक अमेरिकन डलरको सटही दर १२४ रुपैया रहेको कारण प्रतिमृतक उनका परिवारले करिब २५ लाख रुपैयाँ पाउनेछन् । यो रकम विमान कम्पनीले आफ्ना यात्रुका लागि गरेको बीमावापत बीमा कम्पनीले भुक्तानी गर्नेछन् ।

यद्यपि यो रकम ज्यादै कम भएको भन्दै यसलाई संशोधन गर्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छुट्टै कानुन बनाउन लागिरहेको मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछानेले जनाए । नेपालमा व्यवसायिक हवाई उडान सुरु भएदेखि नै यात्रुको बीमा रकम २० हजार अमेरिकी डलर थियो । नेपालमा व्यवसायिक उडान सुरु भएको ५५ वर्षदेखि नै आन्तरिक उडानमा हुने दुर्घटनाको बीमाशुल्क २० हजार अमेरिकी डलरबाट बढ्न सकेको छैन । यद्यपि अहिले अन्तर्राष्ट्रिय उडानका लागि प्रति यात्रु १ लाख डलरभन्दा बढीको बीमा हुने गरेको सहसचिव लामिछानेले जनाए । अहिले नागरिक उड्डयनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (मोन्ट्रियल महासन्धि)को आधारमा बीमा रकम १ लाख डलरभन्दा बढी रहेको लामिछानेले जनाए ।

LEAVE A REPLY