साझाट्युव : २४ असार, काठमाडौं ।
राजस्वको दर हेरफेर गराउन बाहिरिया अनाधिकृत व्यक्तिहरुलाई सामेल गराएको आरोप लागेर संसदीय छानबिन समेती गठन भएपछी राजिनामा दिएका जनार्दन शर्मामाथि आउने मंगलबारबाट छानबिन सुरु हुने भएको छ ।
संसद भित्र र बाहिर व्यापक प्रश्न उठेपछि असार २२ गते प्रतिनिधिसभाले ११ सदस्यीय विशेष छानबिन समिति गठन गरेको थियो । सो समितिलाई काम सुरु गरेको मितिले १० दिनको समय दिइएको छ ।
असार २४ गते शुक्रबार सभामुख अग्नि प्रसाद सापकोटाले सहजीकरणका लागि संसद भवन नयाँ बानेश्वरमा बैठक राखेका थिए । सो बैठकले विशेष समितिको सचिवको जिम्मेवारी संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई दिएको छ ।
आउने मंगलबार सहजीकरण बैठकले विशेष समितिको पहिलो बैठक बस्ने तय गरेको हो । संसद सचिवालयका अनुसार मंगलबार बस्ने पहिलो बैठकमा समितिको संयोजक तय हुनेछ । सोही दिन कार्यविधिसमेत बनाएर समितिले आफ्नो कार्य सुरु गर्ने भएकोछ ।