विदेशमा भएका नेपालीहरुलाई मतदानको अधिकार दिने बिषयामा छलफल भइरहेको छ : अध्यक्ष दाहाल

255
साझाट्युव : २१ साउन, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा भएका नेपालीहरुलाई मतदानको अधिकार दिने सम्बन्धमा छलफल भईरहेको जानकारी दिएका छन् ।

जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबल, २०२२ को उद्घाटन गर्दै अध्यक्ष दाहालले विदेशमा भएका नेपालीहरुलाईलाई मतदानमा सहभागीता गराउने सम्बन्धमा महत्वपूर्ण छलफल चलिरहेको जानकारी दिए । उनले विदेशमा भएका नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई मुलुकको निर्माणमा परिचालन गर्न सकिने र त्यसका निम्ति आफूहरु प्रयासरत भएको पनि बताए ।

नेपाल अनि जापान बीचको सम्बन्ध पुरानो भएको भन्दै उनले एक सय २० वर्षबाट नेपाली विद्यार्थी जापानमा अध्ययन गरिरहेको पनि जानकारी दिएका छन् । नेपालको शैक्षिक र आर्थिक विकासका निम्ति पुर्‍याएको सहयोगप्रति अध्यक्ष दाहालले जापान सरकारलाई विशेष धन्यवाद पनि दिए । दातृ देशका रुपमा जापान नेपालका निम्ति महत्वपूर्ण भएको उल्लेख गर्दै उनले नेपाल–जापान सहयोगलाई थप विस्तारका निम्ति महत्वपूर्ण भूमिका निभाउने विश्वास पनि व्यक्त गरे

नेपाल र जापान सम्बन्धलाई थप उचाइमा पुर्‍याउनको निम्ति आफ्नो भ्रमण केन्द्रित भएको उनले बताए । जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेसित आफ्नो विशेष सम्बन्ध र मित्रता भएको पनि अध्यक्ष दाहालले स्मरण गरे । आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनपछि थप बलियो र स्थिर सरकार गठन हुने साथै विकास र समृद्धिको अभियान निरन्तर अगाडि बढ्ने पनि बताए । पाँचदिने जापान भ्रमणका सिलसिलामा अध्यक्ष दाहाल त्यहाँ पुगेका हुन् ।

LEAVE A REPLY