दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा ५ वर्षभन्दा बढी कैदको माग गर्दै मुद्दा दर्ता,

53

साझाट्युव : काठमाडौं , २६ मङ्सिर  २०८१, बुधबार

कम्बोडियामा भएको एउटा टेलिकम कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको लगानी भएको दाबी गरेका दुर्गा प्रसाईंविरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ । काठमाडौँका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा बुधबार अदालतमा अभियोगपत्र दायर गरेका छन्।

प्रसाईंमाथि विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गत कसुरमा ५ वर्ष कैद साथै १ लाख जरिवाना गर्न समेत मागदाबी गरिएको छ । सरकारी वकिलले दफा (४७)को (२) अनुसार थप प्रसाईंलाइ सजाय गर्नुपर्ने माग राखेका छन् । सो उपदफा अनुसार पटक–पटक साइबर सम्बन्धी कानुन उल्लंघन गर्नेलाई डेढी सजाय हुने कानुनी व्यवस्था समेत रहेको छ । सो व्यवस्था अनुसार उनलाई ५ वर्ष र त्यसको डेढी सजाय हुनुपर्ने सरकारी वकिलको मागदाबी रहेको छ ।

प्रसाईंविरुद्ध विद्युतीय कारोबार सम्बन्धी काठमाडौँ जिल्ला अदालतमा दर्ता गरेको यो तेस्रो मुद्दा हो । प्रधानमन्त्रीको लगानी गरेको सम्बन्धी कागजात आफूले तयार नगरेको र कम्बोडियादेखि एकजना नेपाली नागरिकले ह्वाट्सएपमा पठाएपछि सार्वजनिक गरेको उनले बयानमा भनेका छन् । उनलाई धरौटीमा छाड्ने यात थुनामा राख्ने भन्ने बहस बिहीबार प्रसाईंको बयानपछि सुरु हुनेछ ।

३ वर्षभन्दा धेरै कैद सजाय हुनसक्ने मुद्दामा प्राप्त प्रमाणबाट पुष्टि हुने अवस्था भएमा थुनामा पठाउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।

 

LEAVE A REPLY