बाकस कसको खाली हुन्छ म भन्दिन :ओली

151

साझाट्युव : चैत ६, काठमाडौं।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालप्रति व्यंग प्रहार गरेका छन् ।

इलामको फिक्कलमा आज आइतबार आयोजित कार्यक्रममा उनले खनालप्रति एमालेले लगाइदिएको जुँगाको ताउ लगाएर हिँडेको भन्दै व्यंग प्रहार गरेका हुन् ।

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा नेता खनालले पनि आउँदो चुनावमा ओलीको बाकस खाली हुने भनेर व्यंग गरेका थिए ।

आइतवार खनालकै निर्वाचन क्षेत्रमा पुगेर ओलीले त्यसको जवाफमा ‘नेकपा एमालेले लगाइदिएको जुँगामा ताउ लगाउने अहिले अनि एमालेको बाकस खाली हुन्छ भन्ने ? बाकस कसको खाली हुन्छ म भन्दिन तपाईहरुले जवाफ दिनुपर्छ आउँदो वैशाख ३० गते’ भन्दै व्यंग प्रहार गरे ।

यसैगरी,ओलीले एमालेका कार्यकर्ताको बलमा चुनाव जितेकाहरु राजीनामा दिनुको सट्टा एमालेविरुद्ध नै लागेको टिप्पणी समेत गरे ।

कार्यक्रममा बोल्दै उनले ‘हेर्नुस् त एमालेका कार्यकर्ताले खियाएका जुत्ता चप्पलको मूल्य, बगाएको पसिनाको मूल्य, छोडेका कामको मूल्य, रोजगारीमा नगएर अन्तरे जन्तरेलाई भोट हाल्दा खर्चिएको समय कार्यकर्ताको मेहनत त्यो कुरा सबै बिर्सिएर त्यसको भत्ता खाइराखेर र राजीनामा गर्नुपर्दैन कमसेकम त्यसबट अलग हुनुपर्दैन ?’ भन्दै प्रश्न पनि गरे ।

साथै,ओलीले ‘एमालेले लगाइदिएको एमपीको सांसदको फुली बोकेर मेयरको फुली बोकेर, एमालेलाई फिर्ता गर्नुपर्दैन ? विचार गर्नुस् त कति साह्रो लाजमर्नु ? कमसेकम नेकपा एमालेले टाँसिदिएको जुँगा खौरेर छोड्नुपर्छ नि ’ भन्दै दह्रिलो व्यंग प्रहार गरे।

LEAVE A REPLY