हाम्रो पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको हेरफेर समाचार हावा हो : माधव नेपाल

145

साझाट्युव : चैत ८,काठमाडौं ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको हेरफेर नगर्ने स्पष्ट बताएका छन् । केही दिन यतादेखि एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरूको हेरफेर गर्ने तयारी गरेको भन्ने समाचारहरू सार्वजनिक भइरहँदा उनले त्यसमा सत्यता नभएको स्पष्ट पारेका हुन् ।

साँखुमा सोमबार आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले यस्तो प्रतिक्रिया दिंदै गलत र नियोजित रूपमा हल्ला फिँजाइएको पनि बताए । साथै,उनले कार्यकर्तालाई यस्तो हल्लाको पछि नलाग्न आग्रह समेत गरे ।

अध्यक्ष नेपालले ‘बाहिर आएको हल्लाको पछि नलाग्नुस् । मन्त्रीहरूलाई निकाल्दैछन्, नयाँ पठाउँदैछन् भन्ने हल्ला नपत्याउनु ’ भने।
बोल्नेक्रममा उनले मन्त्री फेर्दैछन् भन्ने हल्ला चलेपछि आफ्ना पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कर्मचारीले टेर्ने छाडेको पनि बताए ।

त्यस्तै अध्यक्ष नेपालले आफ्ना पार्टीबाट सरकारमा रहेका दुई मन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको समाचारहरूमा कुनै पनि सत्यता नभएको बताए।

यस पार्टीबाट विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री सहित भवानी खापुङ राज्यमन्त्री गरि सरकारमा पाँच जना सहभागी छन् ।

LEAVE A REPLY