साझाट्युव : वैशाख २०, काठमाडौं ।
चर्चित गायक राजु लामाले सगरमाथा क्षेत्रमा ६,५७४ मिटरको उचाइमा कन्सर्ट गरेका छन्।
त्यति उचाइमा साङ्गीतिक कार्यक्रम गर्न सहज नभए पनि जलवायु परिवर्तनको सन्देश दिन आफूले त्यसो गरेको उनले बताए।
सगरमाथाको क्याम्प-३ पुगेर लामाले मंगोलियन हार्ट ब्याण्डका चर्चित गीतहरु गाए ।यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम हो । यसअघि बेलायती गायक ओज बेल्डोनले १६ मे २०१२ मा मेरापिक हिमालको ६ हजार ४७६ मिटर उचाइमा कन्सर्टको गिनिज विश्व रेकर्ड राखेका थिए ।
मंगोलियन हार्टको यो कन्सर्टसँगै बेलायती गायकको अघिल्लो कीर्तिमान पनि तोडिएको छ ।
राजुले जनाए अनुसार जलवायु परिवर्तनको संकटले हिमाल र हिमनदी पग्लिएको, तटीय क्षेत्रका बासिन्दाको जनजीवन र संस्कृति संकटमा परेको, बाढीपहिरो जस्ता प्राकृतिक विपद्ले जोखिम ल्याएकोबारे सन्देश दिन कन्सर्ट गरेको हो ।
ग्लोबल वार्मिङ र जलवायु परिवर्तनजस्ता संकट सिर्जना हुनुमा १० प्रतिशत मानवीय प्रवृत्ति जिम्मेवार रहेको उनले बताए । ‘व्यक्तिगत रुपमा कार्बन उत्सर्जनलाई घटाएर हिमाल जोगाउने र सन्देश दिने मेरो उद्देश्य हो,’ उनले भने ।
गिटार लिएर क्याम्प-३ पुगेका राजुले त्यहाँ रिलिज नभइसकेको आफ्नो नयाँ गीत ‘हिमालले डाक्यो मलाई’ गाए । सार्वजनिक नभइसकेको यो गीतलाई रिलिज गर्ने तयारी भइरहेको र ८० प्रतिशत भिडियो छायांकन भइसकेको उनले जानकारी दिए ।
राजु अहिले सगरमाथा चुचुरोमा पुग्ने अभियानमा छन् ।